Thaha

Sunday 22 September - 1:24 am NST

प्रधानमन्त्री ओलीद्वारा दिल्लीमा भारतीय विश्व मामिला परिषद्को कार्यक्रमलाई सम्बोधन       प्रधानमन्त्रीले भन्नुभयो–संविधानले कसैलाई विभेद गरेको छैन


काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल छिमेकी भारत र चीनको तीव्र आर्थिक विकासबाट लाभ लिएर अघि बढ्ने बताउनुभएको छ । नयाँ दिल्लीको भारतीय विश्व मामिला परिषद्ले गरेको प्रवचन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकसित भारत र चीन दुवै छिमेकी मुलुकसँग विकासका लागि नेपालले परिणाममुखी साझेदारी गर्न चाहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालको भूमि कुनै मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने प्रष्ट पार्नुभयो।  ‘ हामी स्पष्ट छौँ नेपालको माटोमा कोहीविरुद्ध कोहीलाई दुरुपयोग हुन दिने छैनौँ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो– भारतको सुरक्षा चासो र ऊसँगको लामो मित्रतालाई पनि ध्यानमा राखेका छौँ ।’प्रधानमन्त्री केपी ओलीले भारतसँग दशगजा क्षेत्रमा अवान्छित गतिविधि हुन नदिने समझदारी भएको बताउनुभयो । तराई मधेसको आन्दोलनका क्रममा सीमाको दशगजा क्षेत्रबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिएको पृष्ठभूमिमा दुई देशबीच यस्तो सहमति भएको हो । प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई भारतले महत्वपूर्ण उपलब्ध भनेर स्वागत गरेको भन्दै भारतलाई धन्यवाद समेत दिनुभयो । नागरिकताका विषयमा भ्रम फैलाइएको  र नेपालको संविधानले कसैलाई  विभेद नगरेको बताउनुभयो । संविधान जारी भएपछि नेपालीसँग विवाह गर्ने भारतीय महिलाले पनि नागरिकता पाउने प्रष्ट व्यवस्था रहेको भन्दै प्रधानमन्त्रीले यसमा कुनै  भ्रम नराख्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नागरिकताको अधिकार प्रान्तीय सरकारलाई दिन नसकिने पनि प्रष्ट पार्नुभयो । सीमांकन विवाद सुल्झयाउन सहमतिको प्रयास भैरहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । भारतमा संविधान जारी भएको ६५ वर्ष पुग्दा समेत प्रदेशको संख्या थप्ने र घटाउने काम भइरहेको भन्दै उहाँले नेपालको संविधान पनि परिर्वतनीय रहेको र आवश्यकता अनुसार संशोधन गर्दै जाने प्रष्ट पार्नुभयो । नेपालको जलविद्युतको क्षेत्रमा काम गर्न सके दुवै देशलाई फाइदा हुने भन्दै पाकृतिक स्रोत साधनको प्रयोगमा सहकार्य गर्न भारतलाई आग्रह गर्नुभयो । 


यसैबीच,  प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतीय ऊर्जा राज्यमन्त्री पियुष गोयल तथा आयुष राज्यमन्त्री श्रीपद् येस्सो नायकबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवनमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले भारत सरकारले दिएको सम्मान र सत्कारका लागि धन्यवाद दिँदै नेपालको ऊर्जा विकासमा सहकार्यका सम्भावना खोज्न आग्रह गर्नुभएको थियो । भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमला थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय लगायतको सहभागिता थियो । प्रधानमन्त्री ओलीले आजै बेलुकी होटल ताज प्यालेसमा भारतका उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ ।